labortelevision@gmail.com

अब श्रम सहायता कक्ष चौबीसै घण्टा खुला

११ वैशाख , काठमाडौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सहजीकरण गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको 'श्रम सहायता कक्ष' लाई थप व्यवस्थित गरी चौबीसै घण्टा सञ्चालनमा ल्याएको छ।
​वैदेशिक रोजगारीमा जाने र फर्किने श्रमिकलाई सहजीकरण गर्ने उद्देश्यसाथ यसअघि दुई सिफ्टमा सञ्चालन भएको सहायता कक्षलाई तीन सिफ्टमा विस्तार गरेर चौबीसै घण्टा सञ्चालनमा ल्याइएको हो। गत मङ्गलबारदेखि थप व्यवस्थित गरेको जनाइएको छ। श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्ड र प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) सहकार्यमा ११ जना कर्मचारीमार्फत श्रम सहायता कक्ष सञ्चालन गरिएको छ।
​श्रम मन्त्रालयका सहसचिव एवं प्रवक्ता पीताम्बर घिमिरेले वैदेशिक रोजगारीमा जाने श्रमिकको हकहितका लागि श्रममन्त्रीस्तरीय निर्णयबाट सहायता कक्षलाई थप व्यवस्थित गरी सञ्चालन गरिएको जानकारी दिनुभयो।
​उहाँले कुनै पनि बहानामा वैदेशिक रोजगारीमा जाने श्रमिक नठगिऊन् भनेर जानकारी दिने उद्देश्यसहित सहायता कक्ष चौबीसै घण्टा सञ्चालनमा गरिएको बताउनुभयो। सहसचिव घिमिरेका अनुसार मन्त्रालय, विभाग र बोर्डबाट खटाइएका कर्मचारीमार्फत वैदेशिक रोजगारीमा जाने श्रमिकलाई नेपालको कानुनी प्रक्रिया पूरा गरेर सहज रूपमा विदेश प्रस्थान गर्ने वातावरण बनाउने काम हुँदै आएको छ। विदेशमा अप्ठ्यारो परेमा सहयोग लिने दूतावासका कर्मचारीको नाम, नम्बर र ठेगानासमेत जानकारी गराइने गरेको छ। गोर्खापत्रबाट 

प्रतिक्रिया