बैशाख ५, २०८३
सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा गगन थापा पक्षलाई विजय दिलाएको छ। शुक्रबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले निर्वाचन आयोगको निर्णयलाई सदर गर्दै देउवा पक्षले दायर गरेको रिट निवेदन समेत खारेज गरिदिएको छ।
अदालतले चारवटा मुख्य बुँदामा फैसला सुनाएको छ:
१. विशेष महाधिवेशनलाई पूर्ण वैधानिकता
२. निर्वाचन आयोगको निर्णय सदर
३. देउवा पक्षको रिट खारेज
४. गगन थापा नै एकमात्र आधिकारिक सभापति
अदालतको फैसलासँगै जनवरी २०२६ मा सम्पन्न विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नै नेपाली कांग्रेसका वैधानिक सभापति हुन् भन्ने कानुनी पुष्टि भएको छ।
नेताहरूको प्रतिक्रिया
गगन थापा पक्ष: "अब एकताको यात्रा"
यो फैसलाले कांग्रेसलाई एकताबद्ध र फेरि बलियो बन्ने वातावरण बन्यो : गगन थापा
महामन्त्री गुरुराज घिमिरेले भने, "सर्वोच्च अदालतको फैसला न्यायपूर्ण छ। यो कसैको हार वा जित होइन, पार्टीको विधान र लोकतान्त्रिक प्रक्रियाको जित हो। अब हामी सबै एकताबद्ध भई १५ औं महाधिवेशनलाई उत्साहका साथ सम्पन्न गर्न केन्द्रित हुनुपर्छ।"
महामन्त्रीद्वय प्रदीप पौडेल साहितको संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन्, "सर्वोच्च अदालतको निर्णयले सबैको आत्मसम्मान र योगदानको कदर गरेको छ। अब हामी सबै एकताबद्ध भई पार्टीको १५ औं महाधिवेशनलाई उत्साह र एकताका साथ सम्पन्न गर्न केन्द्रित हुनुपर्छ।"
सहमहामन्त्री योगेन्द्र चौधरी*ले देउवा र कोइराला पक्षलाई लक्षित गर्दै भने, "सभापति थापाले भोलिबाटै पार्टीभित्र संवाद अगाडि बढाउनुहुन्छ। उहाँहरूलाई रातो कार्पेट बिछ्याएर स्वागत गर्छौं। उहाँहरूको सम्मानमा कुनै कमी गर्दैनौं।"
देउवा-कोइराला पक्ष: "राजनीतिक समाधान बाँकी"
प्रकाशशरण महतले भने, "सर्वोच्च अदालतबाट अपेक्षित निर्णय आएन। अब कानुनी बाटो रहेन। पार्टीभित्रको राजनीतिक समस्या समाधान भएको छैन। राजनीतिक समस्या समाधान गर्ने दायित्व सर्वोच्च अदालतबाट आधिकारिता पाउने नेतृत्वको हो। एकताबद्ध कांग्रेस नै आजको आवश्यकता हो।"
शेखर कोइराला निकट नेता जीवन परियारले भने, "सर्वोच्च अदालतको निर्णय स्वीकार गर्नुपर्छ। सभापति गगन थापाले विशेष महाधिवेशनमा भाग नलिएका नेताहरूसँग संवाद र छलफल गरी १५ औं महाधिवेशनमा सहभागी हुने वातावरण निर्माण गर्नुपर्छ।"
सर्वोच्च अदालतको फैसलाले नेपाली कांग्रेसमा "गगन युग" को कानुनी आधार तयार पारेको छ। तर, पार्टीको वास्तविक एकताका लागि देउवा र कोइराला पक्षको मनोविज्ञानलाई सम्मानपूर्वक समेट्नु गगन थापाको सबैभन्दा ठूलो राजनीतिक चुनौती हुनेछ।
राजनीतिक विश्लेषकहरूका अनुसार, कानुनी लडाइँ सकिए पछि राजनीतिक एकताको यात्रा अब सुरु हुँदैछ। गगन थापाको नेतृत्वले देउवा र कोइराला पक्षलाई कसरी समेट्छ भन्ने कुराले नेपाली कांग्रेसको भविष्य निर्धारण गर्नेछ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
labortelevision.com