labortelevision@gmail.com

नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनियन १४औँ वर्षमा प्रवेश

काठमाडौं। नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनियनले स्थापनाको १३ वर्ष पूरा गर्दै १४औँ वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना व्यक्त गरेको छ। युनियनका अध्यक्ष बिकास बखतीद्वारा जारी सन्देशमा सम्पूर्ण श्रमजीवी सदस्य, पूर्वपदाधिकारी तथा शुभेच्छुकहरूलाई बधाई दिँदै संगठनको योगदानको स्मरण गरिएको छ।

युनियनले विगत १३ वर्षमा कर्मचारीहरूको हक–हित, पेसागत सुरक्षा र संस्थागत सुदृढीकरणका लागि महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेको छ। “संस्था सबल भए मात्र कर्मचारीको हित सुनिश्चित हुन्छ” भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै नीतिगत सुधारदेखि कर्मचारीका समस्या समाधानसम्म सक्रिय रहेको सन्देशमा जनाइएको छ।

विश्व ऊर्जा क्षेत्रमा भइरहेको परिवर्तनलाई ध्यानमा राख्दै युनियनले नीतिगत बहस, राष्ट्रिय स्रोतको संरक्षण तथा व्यावसायिक पारदर्शितालाई प्राथमिकतामा राखेको जनाएको छ। दैलेखमा फेला परेको प्राकृतिक ग्यासको उत्खनन तथा बजारीकरणको जिम्मा निगमलाई दिनुपर्ने माग पनि युनियनले अघि सारेको छ।

यस्तै, ठूला पूर्वाधार निर्माणअघि विस्तृत अध्ययन, लाभ–लागत विश्लेषण र पुँजी सुनिश्चितताको आवश्यकता औंल्याउँदै युनियनले पारदर्शी र दिगो संस्थागत विकासमा जोड दिएको छ।

युनियनले “पेसागत इमानदारिता, कर्मचारी एकता र संस्थागत प्रभावकारिता” को नारासहित आगामी दिनमा पनि कर्मचारीहरूको वृत्ति विकास र संस्थाको सुदृढीकरणमा निरन्तर लागिरहने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया